Section 57
यस ऐन प्रारम्भ हुनुभन्दा अगावै भए गरेका कारोबार
(१) यो ऐन प्रारम्भ हुनुभन्दा अगावै सम्पन्न गरिएको धितो बन्धकी सम्झौता (हाइपोथिकेसन), प्लेज सम्झौता, हायर पर्चेज सम्झौता वा यस ऐनमा परिभाषित गरिएको मालसामानको पट्टाको सम्झौताका सम्बन्धमा देहायबमोजिम हुनेछ । यस दफाको प्रयोजनको लागि त्यस्ता कारोबारहरुलाई यो ऐन लागू हुनुभन्दा अघि भएका पूर्व कारोबारको रुपमा लिइनेछः–
(क) खण्ड (ख) र (ग) मा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्ता पूर्व कारोबारको वैधता, प्रभाव र कार्यान्वयनको निर्धारण सम्झौता गर्दाका बखत लागू रहेको प्रचलित कानूनबमोजिम गरिनेछ,
(ख) यो ऐन प्रारम्भ हुनुभन्दा अघि सम्पन्न भएका कारोबारद्वारा सिर्जित धितोको हक यो ऐन प्रारम्भ भएपछि सिर्जित धितोको हकसँग बाझिएको हदसम्म यस ऐनबमोजिम सिजित धितोको हक मान्य हुनेछ, र
(ग) पूर्व कारोबारअन्तर्गत धितो लिने व्यक्तिले धितोको हकको सूचनाका सम्बन्धमा अपनाउने परिच्छेद–२ बमोजिमको तरिका अनुसार नै दर्ता कार्यालयले काम प्रारम्भ गरेको मितिले एक वर्षभित्र कारोबारको सूचना दर्ता गराउन सक्नेछ । यस ऐन अन्तर्गत सूचना दर्ता गरी स्थापित परिपक्वताको प्राथमिकता दर्ता कार्यालय स्थापित भएको मितिदेखि गणना गरिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुुकै कुरा लेखिएको भए तापनि यस ऐनको अधिकारक्षेत्रभित्र पर्ने कुनै कारोबार यो ऐन प्रारम्भ भएको मिति र दर्ता कार्यालय स्थापना भई सञ्चालन भएको समयको बीचमा सम्पन्न भएको रहेछ भने त्यस्तो कारोबार उपदफा (१) बमोजिमका अधीनमा रही भएको मानिनेछ ।